Listen Live

Fri, Sep 22, 2017 04:58:42
मौन अवधि: कहाँ–कहाँ के–के भयो ?
Posted On: May 13, 2017

मौन अवधि: कहाँ–कहाँ के–के भयो ?

बैशाख ३०, काठमाडौं–स्थानीय तहको पहिलो चरणको चुनावको मतदानको समय नजिकिदै जाँदा चुनाव विरोधी गतिविधि बढन थालेका छन् । बन्दको आव्हानदेखि बम विस्फोटसम्मका चुनाव विरोधी घटना गराएर मतदातालाई आतंकित बनाउने काम भएको छ ।

मौन अवधीमा अचानक बढेका हिंसाका घटनाले उम्मेदवार र मतदातालाई चिन्तित बनाउन सक्छ । यद्यपी सरकारले सुरक्षा व्यवस्था चाहीँ कडा पारेको बताएको छ । हिजो राती १२ बजेबाट मौन अवधी शुरु भएको थियो ।

यस्ता छन्, पछिल्ला चुनाव विरोधी गतिविधि


बैशाख ३० गते विहान १० बजेसम्मका गतिविधि

-तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए ।

उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ ।

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

शनिबार बिहान ५:१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

–स्थानीय तह निर्वाचनको मौनअवधिमा धादिङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ भने पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ ।

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजीयार थारुले बताएका छन् ।

–चेकजाँचको क्रममा फेला परेको बा७प १९६२ नं को मोटरसाइकल र ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

–यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबँेसीमा राखिएको सिलिन्डर बम र महादेवबँेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।


–धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ । धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताएका छन् । बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ ।

– भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्र्पक कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

–पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ ।

बैशाख २९ गतेका घटना

– सप्तरीको नापी शाखा कार्यालयमा आज अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भयो । विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको थियो । मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताएका थिए ।

–नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको बताइएको छ । नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।

नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बिहीबार राति बम फेला परेको थियो । सो बमलाई गएराति नै नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । यस्तै, कावासोती–३ स्थित पुरानो कावासोती चोकनजिक सार्वजनिकस्थलमा बिहीबार साँझ बम पड्किएको थियो । सार्वजनिकस्थलमा नेपाली काँग्रेसले गरेको सभालाई लक्षित गरी राखिएको बम पड्किए पनि यसबाट मानवीय क्षति भने भएन ।
यसैगरी बिहीबार नै गँैडाकोट नगरपालिकामा पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेका दुर्गादत्त ढुङ्गानाको घरनजिकै बिहीबार नै बम फेला परेको थियो । सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा पनि फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।

–भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको थियो । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

–स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा बम फेला परेको थियो । गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको थियो । प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन्अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका थिए ।

–नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको थियो । (माओवादी केन्द्र)बाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिएका थिए ।

राताेपाटी अनलार्इनबाट

Comments
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement