Listen Live

Fri, Sep 22, 2017 05:00:50
बान्नीकी चैतली : सुदूर पश्चिमको एक विषेश सँस्कृति
Posted On: Mar 28, 2017

बान्नीकी चैतली : सुदूर पश्चिमको एक विषेश सँस्कृति

मान बहादुर सानु बोहरा

काठमाडौं - सुदूर पश्चिम प्राकृतिक, धार्मीक, ऐतिहासीक र सांकृतिक दृष्टीकोणले महत्वपूर्ण छ । त्यसै भित्रको विविध विशाल संस्कृतिहरु र सुन्दरताले सजिएको जिल्ला हो बझाङ  । बझाङमा विभिन्न साँस्कृतिक परम्पराहरु छन् । यहाँको सँस्कृतिको कुरा गर्दा अग्र पङ्तीमा आउँने एक नाम हो ‘बान्नीकी चैतली’ । बान्नीकी चैतली भनेर चिनिने चैतली मेला बझाङको मात्रै नभएर समग्र सुदूर पश्चिमकै लोक संकृति र एक विषेश संकृति हो । चैतली मेला बझाङ जिल्लाको छबीस पाथिभेरा गाउँ पालिका वडा नं. ३ बान्नीकोट (बान्नीचौर)मा लाग्ने गर्दछ । धार्मीक आस्था संग जोडिएको चैतली सुदूर पश्चिमका अन्य ठाउँहरुमा लाग्ने मेला भन्दा फरक रुपमा मनाईंने गरिन्छ । 

सुदूरपश्चिमको प्रसिद्ध चैतली मेलामामा हजारौं श्रद्धालु तथा दर्शनार्थीले बान्नीको कांकर (लिंगो) र बान्नी मस्टाको दर्शन गर्ने गर्दछन् । ‘परापूर्वकालमा महिसासुर दानवले बान्नी मस्टा देवतासँग युद्ध गरेर पासोमा पारेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भएर महिसासुरको बध गरेको खुसियाली’मा बान्नीकी चैतली मेला मनाईंदै आएको जनविश्वास रहिआएको छ । होली पूर्णिमाको दिनबाट सुरु हुने मेला चैत शुक्ल पूर्णिमासम्म लाग्ने गरेको छ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मस्टाका ‘करियाहरू चोखो भएर व्रत बस्ने’ प्रचलन रहेको छ । सुर्मादेवीले भाला प्रहार गरेर दानवको बध गरेको प्रतीकका रूपमा चैते औंसीका दिन काटेको कांकरलाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी खेतमा हिँडाउने चलन छ । सिंगो कांकरलाई झण्डै ३ सय मिटर जति हिँडाउने गरिएको छ । यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मस्टाको मन्दिरमा चढाएपछि ‘राक्षसको टाउकाको भकुन्डो बनाएर सुर्माले खेलेको’ सम्झनामा तल्लो छबिस र मल्लो छबिसका स्थानिय बासिन्दाबीच ‘भकुन्डो’ खेल्ने प्रचलन रहिआएको छ । चैतलीको विशेषताको रुपमा मस्टा देवताको पूजा, कांकर हिँडाएको, कांकर जुधाइने, बान्नीचौरमा रतेडी (बासी चैतली)को दिन लाग्ने देउडा संगै भकुन्डोलाई लिइने गरिन्छ । 

“बान्नीकी चैतली सुदूर पश्चिमका अन्य ठाउँहरुमा लाग्ने मेला भन्दा फरक रुपमा मनाईंने गरिन्छ । राक्षसलाई मारिसकेपछि सुर्मादेवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा बनाई विजय उत्सव मनाएको किंवदन्ती छ ।”

बान्नीकी चैतली होली पूर्णिमाको दिनबाट सुरु हुने गरेको छ । तर, यसको विषेश दिनका रुपमा भने चैत्र शुक्ल त्रयोदशीका दिनलाई मानिन्छ । यसै दिन चैतली हेर्नको लागि सुदूर पश्चिम संगै देशका विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा बान्नीचौर पुग्ने गर्दछन् । २०७३ सालको बान्नीकी चैतली मेला चैत्र महिनाको २७ गते परेको छ । 

सुदूर पश्चिम प्राकृतिक सुन्दरता संग–संगै साँस्कृतिक रुपमा पनि महत्वपूर्ण भूभाग हो । विभिन्न सँस्कृतिहरु सुदूर पश्चिममा रहेका छन् । सुदूरका नौ वटै जिल्लाहरु सास्कृतिक रुपमा सम्वृद्ध छन् । यहाँ रहेका विभिन्न सँस्कृतिहरुको आफ्नै मौलिकता तथा पहिचान छ । पछिल्लो समय गाउँ गाउँमा पुगेको यातायातको सुविधाले देश भित्र तथा देश बाहिर बाट सुदूर पश्चिम घुम्न आउँने हरुलाई निकै सहज बनाई दिएको छ । यहाँका विविध संकृतिहरु सुदूर पश्चिमको विकासका वलिया आधार बन्न सक्दछन् । यस क्षत्रको पर्यटन विकासमा समेत यी सँस्कृतिहरुको विषेश भुमिका रहेकोले पनि यस्ता संकृतिहरुको प्रचार प्रशार हुन आवश्यक छ ।

तस्बीर सौजन्यः पर्यटन अभियान्ता किशोर खड्का (२०७२ सालको बान्नीकी चैतली) 

Comments
On Air
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement