Listen Live

Thu, Sep 21, 2017 03:43:41
एस् करिश्मा एस् …
Posted On: Jan 01, 1970

नेपाली रजतपटकी सदाबहार नायिका करिश्मा मानन्धरको नयाँ राजनीतिक छलाङ समस्याग्रस्त देशको फिक्रीको उपज हो, उनकै शव्दमा । रिलको जीवनमा जीवन्त अभिनय गर्दा सधै वाही वाही र हाई हाई पाएकी करिश्मालाई नयाँ शक्तिसँगको राजनीतिक लगावले आलोचनाको शिखरमा पुर्‍याएपछि केही भावुक, केही रिस र केही सन्देशको रुपमा सार्वजनिक उनको फेसबुके प्रतिक्रिया समकालीन नेपाली राजनीतिलाई केही घोचपेच हो, केही यथार्थको चित्रण पनि ।

ताली खाने बानीमै जवानी गुजारेकी सुन्दरीलाई गालीको वर्षाले हतप्रभ बनाएछ, शायद । त्यसैले उनले फेसबुकमै लेखिन् मनका कुरा । नयाँ शक्ति पार्टीको घोषणा सभामा आफ्नो कमजोर उदघोषणमाथि गरिएका टिका टिप्पणीहरुप्रति नायीका मानन्धरको भावुक जवाफकै भरमा उनले रोजेको नयाँ राजनीतिक मार्गको सफाई र समर्थन भने हुन सक्दैन । उनले आफूसँग पढाइको डिग्री नभए पनि देशको फिक्री भएको वाक्यांशमै प्रायः मूल कुरोको चुरो ओकलेकी छन् ।

करिश्माको फिक्रीले उठाएका मूलभूत प्रश्नहरु सामान्य जस्ता लागे पनि गम्भीर छन् । उसो भए के अब करिश्माहरुले नै देशको फिक्री लिन थालेपछि हिसिलाहरुको औचित्य सकिएको हो त ? बेकार थिए सहाना प्रधान वा शैलजा आचार्यहरु ? ओनसरी घर्तीहरु वा विद्या भण्डारीहरु केबल मजाक मात्रै हुन् ? करिश्मा त रहरले हैन राजनीतिज्ञहरु असफल भएपछि आफू राजनीतिमा आएको दावी गर्छिन् । के उसो भए अब राजनीतिबाट हात धोए हुन्छ, सीतादेवी यादवहरुले, रामकुमारी झाँक्रीहरुले, नविना लामा, अञ्जना विशंखेहरु, पम्फा भुसालहरु, सरिता गिरीहरुले ?

भनिन्छ सुन्दरता हेर्नकै लागि मात्रै हो, छुनका लागि हैन । करिश्माको सुन्दरता नयाँ शक्ति नामक पार्टीका लागि भने हेर्न र हेराउन मात्रै हैन नयाँ शक्तिलाई उँभो लाउन टेकोकै रुपमा सार्वजनिक भएको छ । हैन भने रंगशालाको त्यो भव्य घोषणा सभाका लागि उदघोषक बन्नलायक अरु थुपै महिलाहरु थिए होलान्, अरु नभए पनि हिसिला त पक्कै थिइन् । किन हिसिलाभन्दा महत्व बढी पाइन् त करिश्माले ? के अब दिन सकिए त हिसिलाहरुको ? अहं सवाल हो यो बृहत्तर बहसको ।

करिश्माकै शब्दमा उनले राजनीति बुझेकी पनि थिइनन् भने किन लागिन् त्यो पनि नयाँ शक्तिमा ? संस्थापक, परिकल्पनाकार, महान बिचारक, विद्वान बाबुराम भट्टराई नै जननायक विपी कोइराला र जननेता मदन भण्डारीको कढी अर्थात् सेतुपात्र ठान्छन्, नयाँ शक्तिलाई । जब विचार नै अरुको चोर्नेले के गरिखालान् र ? ६५ वर्ष बढीको इतिहासका साक्षी किनारा कांग्रेस, एमालेतिरै आफ्नो राजनीतिक करिश्मा देखाएको भए हुन्थ्यो नी त नायीका करिश्माले ? यसको अर्थ यो नलागोस् की उनलाई नयाँ शक्तिमा लाग्ने छुट छैन भन्ने हैन । तर नयाँ नेतृ हुँदै गर्दा पुरानाको उछितो काढ्नेहरुले बाछिटा र छिटा लाग्दा कोकोहोलो नै मच्चाउनु पनि अति नै होला ।

परिवर्तन आफैबाट सम्भव छ, त्यो पनि कर्मबाटै । करिश्माहरुले धुर्मुस-सुन्तलीपथ नै समातेको भए, वाही-वाही र ताली नै तालीको भारी वर्षा पाउँथिन् शायद । अनुराधा कोइराला र दीलशोभा श्रेष्ठहरुको पथ वा पुष्पा बस्नेतहरुको बाटो लाग्न अल्छी मानेर बाबुरामको पिछलग्गु भएपछि करिश्मालाई सधैं स्यावासी र सलाम मात्रै मिल्दैन नी मिल्छ र ? पछि लाग्ने बाबुराम जस्ता जनयुद्धका नाममा १७ हजार बढीको ज्यान लिने युद्धका व्याख्याताको । जनयुद्धका आलोकका हत्या नाइकेको, खलनायकको अनि ताली मात्रै आउनुपर्ने पिछलग्गुहरुलाई नायीका भैदिएको पृष्ठभुमिकै आधारमा ? हालका बाबुरामको छदमभेषी अनुहार र विचार दुबै दागी छ, रक्ताम्य छ, अनि त्यस्ताको पछि लाग्दा पाउने यस्तै हो, भलै सधैं यस्तै गाली मात्र नी नहोला । २०५२ देखि ६२ सम्म जनयुद्धका नाममा देशभर लोकजनले धनजनको असंख्य क्षती व्यहोर्दै गर्दा करिष्माहरु क्याटवाकमै मस्त थिए, बाबुरामहरु दिल्लीको दिशानिर्देशका आज्ञाकारी हुँदा मर्ने मार्ने सबै निर्दोषहरु थिए । के करिश्मा त्यो सबैको भागीदार हुन मञ्जुर हुन् त बाबुरामकै बैशाखी हुन् भने ? त्यसैले नेता हुन खोज्नेले गुण दोषका आधारमा ताली र गाली दुबै पचाउने योग्यता राख्नुपर्ला करिश्मा म्याडम ।

Baburam bhattrai

राजनीति उसै पनि फोहरी खेलको नाममा बदनाम छ । विपी वा मदन भण्डारीहरुले हैन, राजनीतिलाई बदनाम बनाएको डा. बाबुरामपन्थीहरुले नै हो । तिनै वाबुराम हुन्, जसले साम्यवादको सपनामा, माओवादका नाममा १७ हजार बढी सर्वहारालाई अकालमै मारे, मार्ने कित्ताको नेतृत्व गरे । अनि सरकार प्रमुख हुँदा सबैभन्दा भ्रष्ट र जम्बो सत्ता चलाए । प्रधानमन्त्रीको कुर्सीमा बसेर सत्ताको साँचो अन्तै रैछ भन्ने तिनै बाबुराम हुन् । पहिलो सविधान सभालाई विना संविधान मरेतुल्य पार्न अब्बल हुने सत्ताका नायक उनै थिए । दोस्रो संविधानसभाले संविधान जारी गरेको झंकार संविधान सभा परिसर र जनताको मन मष्तिष्कबाट नसकिँदै त्यसको उछितो काढ्ने र मधेसको माग सम्वोधनको नाममा संविधानलाई खोस्टो सावित गर्ने नायक पनि उनै बाबुराम हुन् ।

 

यो नांगो सत्यका बीच जब करिश्माहरु बाबुरामकै अनुयायी हुन्छन् भने अरु त नभनौं करिश्मा म्याडम्, जनताको तप्काबाट आलोचित हुनुपर्ने तपाईंहरुकै प्रवृत्ति र मार्काले हो । त्यसबेला तपाईंलाई हाई-हाई र हिमानी शाहहरु वा धुर्मुस सुन्तलीहरुलाई, पुष्पा बस्नेतहरुलाई मुर्दाबाद गर्दैनन् जनताले । तपाईंले अनुमान गरेजति अविवेकी छैनन् जनता पनि ।

जहाँसम्म भोलिको कुरा छ, त्यो त, बिगतले नै वर्तमान र वर्तमानले नै भविष्यको संकेत गर्ने हो । बिहानले दिनको संकेत गर्ने हो भने, नयाँ शक्ति अवसरवादको पर्याय हो, जनयुद्धको जगमा यो जनयुद्धमाथिको धोखाधढी हो, घाइते, अपांग र वेपत्तामाथिको चरम अन्याय हो । सिद्धान्तका नाममा निर्दोषहरुको ज्यानमा होली खेलेर सत्तामा पुगेर राज्यबाट लिने र पाउने सबैथोक पाइसकेका बाबुरामले अब देश बदल्ने आशा तपाईंहरुले पाल्न स्वतन्त्र हुनुहुन्छ, नपत्याउन जनता पनि स्वतन्त्र छन् । माओवादका नाममा देश बदल्न निस्केका बाबुरामले आफैं गल्ती महसुस गरेर बदलिन ६० वर्ष जनतालाई हँसिया हथौडाका नाममा बेबकुफ बनाए, अब नयाँ शक्तिका नाममा कति बेबकुफ बनाउने ? अनि तपाईं जस्ता लोकपि्रय हस्तीहरु किन उहाँको अवसरवादी बिचारको मलामी जाने त ?

जेठान्तको त्यो घोषणा सभामा करिश्माले म किन राजनीतिमा लागे ? किन अरु शक्ति फेल भए ? किन नयाँं शक्ति आवश्यक छ भनेर बोल्न त सक्नु भएन नी किन ? त्यही रंगशालाबाट २०४७ मा मदन भण्डारीले जनताको बहुदलीय जनवादको मौलिक सिद्धान्त उदघोष गरेका थिए । खै के नयाँ हुने चाहिं अरुको बिचार चोर्ने, अरुको मान्छे चोर्ने र मान्छेलाई भ्रम छर्ने गरेर मात्रै हो त ? बाबुरामको बहकावमा लागेर अब फेरि जनता बेवकुफ भै दिनुपर्ने, करिश्माहरुलाई जय-जय गरिदिनुपर्ने अली हजम नहोला ।

नयाँ कोट वा सारी लाएकै भरमा मान्छे नयाँ बन्ने भए हर मौसम मान्छे नयाँ बन्दा हुन् । देशको व्यवस्था बदलेर जनताको अवस्था बदल्ने बेलामा भ्रष्ट सत्ताको नायकत्व गर्नेलाई अब माओवादी विचार परित्याग गरेकै भरमा नयाँ मानिदिने करिश्माहरुले अनि वाही-वाही गरिदिनुपर्ने जनताले ? त्यो पनि त मिलेन होला नी ।

सूर्य खड्का

सूर्य खड्का

निसन्देह, पार्टी घोषणाको दौरानमा भएका मानवीय कमजोरीकै जगमा टेकेर करिश्माको तेजोवध गरिएको छ भने त्यो गलत हो । तर नायिका करिश्माको हैन, नयाँ पार्टीकी नेतृ करिश्माको रुपमा भएका आलोचना हुन् भने मन नदुखाएकै जाती नवोदित नेतृ करिश्मा महोदयले ।

अहिले टपरटुइया विद्वान र लेखक तथा टिप्पणीकारहरुको विगविगी छ सरल हुँदै गएको सामाजिक सञ्जालमा । त्यो असहिष्णु, अभद्र र तुच्छ तहको पनि छ । व्यक्तिगतरुपमा करिष्माको मानहानी गर्ने हक कसैमा छैन, त्यस्तो कसैले गरेको रहेछ भने साइबर कानून लागोस्, पंक्तिकारलाई समेत । तर नेता सार्वजनिक व्यक्तित्व हो भने, करिश्माले बुझ्नुपर्छ, धेरै बतास झेल्ने अग्लो रुखले नै हो । ‘विद्वान’हरुमाथि खनिएकी करिश्माप्रति नो कमेन्ट । किन की यहाँ थरी-थरीका छन् वुद्धिजीवि पनि । धेरै त हिन्दूस्तानी मूलका नेपाली भेषका भाको देशमा के कुरो गर्नु । बरु कुरो करिश्माकै ठीक होला !

जहाँसम्म पढाई लेखाईको कुरा छ, त्यो भद्धा मजाक थियो । करिश्माले कुनै सर्टिफिकेटको प्रदर्शन गर्न जरुरत छैन । उनको सफल कलाकारिता करिअर, वेदाग व्यक्तित्व र सबैको असल हुने खुबी नै उनको असल र उच्च सर्टिफिकेट हो । आखिर तिनै बाबुराम हुन् जस्ले जनयुद्धभर पढाए केबल छोरी मानुषीलाई अनि बन्दुक बोकाए दुरदराजका हजारौं युवालाई, बालक विद्यार्थीहरुलाई, गैर मानुषीहरुलाई । तथाकथित जनयुद्धका नाममा जनताका छोराछोरीलाई कथित बुर्जुवा शिक्षा नलिन आव्हान गर्ने बाबुरामले पार्टीमा स्नातक योग्यता राख्न खोज्नु र नसक्नु आफैमा जग हसाउने मेलो थियो । बस त्यो नयाँ शहरी नयाँ दन्त्य कथा मात्र हो । आखिर जति पढे नी मान्छे बाबुराम जस्तै सिद्धान्तका लागि अवसरवादी नै बन्ने हुन् भने पढेका बाबुराम भन्दा नपढेका करिश्माहरु हजारौं गुणा जाती हुन् ।

करिश्माहरुले बाबुरामको राजनीतिक प्रवृत्तिको रक्षाकवच, प्रवक्ता अनि हुक्के, बैठके र झोले नबन्ने हो भने अहिले पनि सलाम खाने करिश्माहरुले नै हो । बाँकी बाटो जसो तय गर्लिन् करिश्माले उनका फ्यानहरुले, आलोचकहरुले त्यसैमा नयाँ शक्तिको पक्ष विपक्षमा आउने ताली वा गालीहरुका साथ सम्झलान् करिश्मालाई । खासमा एक सफल र असल कलाकारका रुपमा सगरमाथा जत्रै अग्ली करिश्मा बाबुरामको पुच्छर बन्दा शिवपुरीको थुम्को जत्रो जुम्सो उचाइमा आलोचनाको केन्द्र बनेकी हुन् । आफूलाई सगरमाथाकै उचाइमा वा शिवपुरीको थुम्कोमा कता सीमित राख्ने छनौट गर्न अझै स्वतन्त्रछिन् करिश्मा पनि ।

Comments
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement