Listen Live

Mon, Jul 24, 2017 04:29:56
जिका भाइरसको जोखिम बढ्यो
Posted On: Mar 26, 2017

जिका भाइरसको जोखिम बढ्यो

चैत १३ , काठमाडौँ – विशेषज्ञहरूले छिमेकी राष्ट्र भारतमा जिका भाइरस देखिएकाले नेपालमा समेत यसको जोखिम रहेको बताएका छन् । यसै साता भारतकी स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले लोकसभामा बोल्दै सन् २०१७ को जनवरीमा अहमदाबादमा प्रयोगशाला प्रमाणित जिका भाइरस फेला परेको बताएकी थिइन् । जिका भाइरस बढी गर्मी हुने ठाउँमा संक्रमित एडिस लामखुट्टेको टोकाइले मान्छेमा सर्छ । यो लामखुट्टे दक्षिण एसियाका अन्य मुलुकसँगै नेपालमा समेत प्रशस्त भएको भन्दै विज्ञहरूले संक्रमणको जोखिम रहेको बताएका हुन् ।

 

जिका भाइरस सार्ने लामखुट्टेले चिकनगुनिया, डेंगु, येलो फिभरसमेत सार्छ । यो लामखुट्टेले मुख्य रूपमा बिहान र साँझ टोक्ने गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म जिका भाइरस ८४ मुलुकमा विस्तार भइसकेको छ । एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस १९४७ मा पत्ता लागेको हो । तर धेरै वर्षसम्म अफ्रिका र दक्षिणी एसियामा यसको फाट्टफुट्ट संक्रमण मात्र देखिएको थियो । सन् २०१३ देखि जिकाको केस र प्रकोप अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र अफ्रिकामा देखिन थालेको हो । ‘हामी जिका भाइरस संक्रमणबाट अछुतो रहन सक्दैनौं,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘यसको विस्तार तीव्र गतिमा देखिएकाले बचाउको पूर्वतयारी आवश्यक छ । अझ भारतमा देखिएपछि यो संक्रमणबाट जोगिनु हाम्रा लागि थप जटिल चुनौती भएको छ ।’

सरकारको संक्रामक रोग हेर्ने इकाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य नेपाली कामदारहरू बढी रहेको मलेसिया, थाइल्यान्ड, सिंगापुरका साथै भारतमा समेत जिका संक्रमण देखिएपछि थप सतर्कता अपनाउनु आवश्यक रहेको बताउँछन् । ‘हामी उच्च सतर्कतामा बस्नुपर्छ,’ डा. आचार्य भन्छन्, ‘विमानस्थल र सीमा नाकामा भएका हेल्थ
डेस्कलाई यो संक्रमणको जाँच सुरु गर्न पत्राचार गर्नेछौं ।’

डब्लूएचओका अनुसार जिका भाइरसले गर्दा माइक्रोसिफली र गुलियन बेरी सिन्ड्रोम हुन सक्छ । यसबाहेक यो रोगले हुने अन्य स्नायुसम्बन्धी जटिलताबारे समेत खोजबिन जारी छ । गुलियन बेरी सिन्ड्रोममा एक्कासि हातखुट्टा लुलो लँगडो अर्थात् पक्षाघात जस्तै समस्या हुन्छ भने माइक्रोसिफलीमा टाउको सानो भएका बालबालिकाको जन्म हुन्छ । यो रोगविरुद्घ नेपालको रणनीति लामखुट्टेको टोकाइबाट बच्नु, यसको प्रजनन स्थल नष्ट गर्नु र यसबारे जनचेतना फैलाउनु रहेको आचार्य बताउँछन् । जिकाको कुनै खास उपचार र खोप छैन । यो रोगले संक्रमितहरूले ज्वरो र दुखाइको सामान्य औषधिले उपचार गर्नुका साथै पर्याप्त आराम गर्नुपर्छ । संक्रमित व्यक्तिले प्रशस्त मात्रामा तरल पदार्थ सेवन आवश्यक हुन्छ । यसको लक्षण नराम्रो भए चिकित्सकीय स्याहार सुझाव आवश्यक हुन्छ ।

गर्भवतीहरू मुख्य जोखिममा 
जिका भाइरस रोग गर्भवती महिलाबाट गर्भमा रहेको शिशुमा समेत सर्छ । रिपोर्टहरूअनुसार गर्भावस्थामा जिका भाइरसको संक्रमण देखिएका महिलाहरूको सन्तानमा मस्तिष्कसम्बन्धी जन्मजात दोष माइक्रोसिफली देखिन्छ । गर्भवती हुने चाहना बोकेका महिला र उनका पुरुष साथीसमेत जिका प्रभावित राष्ट्रमा जानुअघि स्वास्थ्य विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने डा. पुन बताउँछन् । दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाहेक जिका शारीरिक सम्पर्कले पनि सर्छ । यो मुख मैथुन, गुदा मैथुनसँगै सामान्य यौन सम्पर्कबाट समेत सर्न सक्ने डा. पुन बताउँछन् ।

लक्षण
जिका भाइरस रोग भएकाहरूमा हल्का ज्वरो, छालामा बिमिरा, मांसपेशी र जोर्नीको दुखाइ, आँखा पाक्ने रोग, बैचेनी र टाउको दुखाइलगायतका लक्षण देखिन सक्छ । यो लक्षण सामान्य रूपमा दुई दिनदेखि एक सातासम्म रहन्छ ।यो खबर हामीले कान्तीपुर दैनिकबाट लिएका हौं ।

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement